११ चैत्र काठमाडौं/भनिन्छ, हिंस्रक बाघले पनि जनावरलाई नमारिकन मासु खाँदैन । तर, विवेकशील भनिएको मानिसले मासु खानकै लागि जिउँदो गोरुको फिला ताछेर मासु चोर्छ भनेर कसरी पत्याउने ? यसै साता इलामको कन्याममा भएको घटनाले मानिस त्यतिसम्म निर्दयी हुँदोरहेछ भनेर पत्याउनै कर लाग्छ । इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटनाले धेरैलाई अचम्मित बनाएको छ ।
गोरुधनी राम राईले मिडियाहरुलाई दिएको जानकारीअनुसार उनको गोठमा रहेको गोरु शुक्रबार राति फिला काटिएको अवस्थामा भेटिएको थियो । केही समय पहिले पनि त्यही गोरुको फिला काटेर अज्ञात व्यक्तिले मासु लगेका थिए । उपचारपछि घाइते गोरु बिस्तारै सञ्चो हुँदै थियो । तर, शुक्रबार फेरि त्यही गोरुको फिला काटेर मासु चोरले करीब पाँच किलोजति मासु लगेको पाइएको छ ।