• दृष्टि खबर

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्वर ९ ठकुरी गाउँका स्थानीयले कुनै पनि हालतमा ठकुरी गाउँमा फोहोर फाल्न नदिने बताएका छन् । फोहोरमैलाको समस्या भोगिरहेको नगरपालिकाले फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि सबै प्रकारका फोहोरलाई एकैपटक जलाउन मिल्ने मेसिन जडान गरेर व्यवस्थापन गर्ने तयारी गरेको छ । त्यसका लागि नगरपालिकाले वडा नम्वर ९ मा फोहोर जलाउने तयारी गरेपछि स्थानीयले बिरोध गरेका हुन् ।

केहि दिनअघि फोहोर व्यवस्थापनकै विषयमा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । प्रहरीले झडपलाई नियन्त्रण गर्न खोज्दा ८ जना घाइते भएका थिए । त्यसपछि स्थानीयले दैनिकजसो विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागिले फोहोर मैला दिगो व्यवस्थापनका लागि सर्वपक्षीय विज्ञ प्राविधिक समिति गठन गर, फोहोर फाल्न दिदैनौं, हाम्रो मान्छे रिहा गर, प्राकृतिक सौन्दर्य मास्न पाइदैन फोहोर हामीलाइ चाहिँदैन, नगरको दादागिरी बन्द गर, वारेन्ट जारी खारेज गर लेखिएका प्लेकार्ड सहित प्रदर्शन गर्दै आएका छन् ।

कृषि फर्मका लागि किनेको जग्गामा नगरपालिकाले फोहोर राख्ने निर्णय गरेकाले बाध्य भएर आन्दोलनमा जानु परेको वडा नम्वर ९ का वडा अध्यक्ष शेर बहादुर सुवालले बताए । त्यहाँ साँस्कृतिक संग्राहलय बन्ने क्रममा रहेको पनि सुवालले बताए । उनले नगरपालिकाले स्थानीयको आवाज सुन्न नचाहेको गुनासो समेत गरेका छन् । यस्तै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष एवं आन्दोलनमा सक्रिय रुपमा सहभागिता जनाइरहेका कृष्ण गोपाल भैलले आफुहरु फोहोर व्यवस्थापनको विरुद्धमा नभएपनि गलत निर्णयको भने सशक्त विरोधी भएको बताए । उनले पुरानो डम्पिङ साइड किन सार्नु पर्यो ?, यो ठाउँ नै किन छनौट गरियो ? त्यो सबै जनतालाई प्रष्ट पार्नुपर्ने बताए । उनले नगरपालिकाले द्धन्द्ध निम्त्याउन खोजे आफुहरु पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् । नगरपालिकाले जनतालाई शुद्ध पानी खुवाउनु पर्ने ठाउँमा खानेपानीको मुहान नजिकै फोहोर फाल्ने योजना बनाएर जनताको स्वास्थ्यमा खेलवाड गर्न लागेको स्थानीय अप्सरा दुलालले बताइन् ।

बरु मर्न तयार छौं तर फोहोर फाल्न दिदैनौं उनले भनिन् । यस्तै स्थानीय उद्धव प्रसाद नेपालले जनताको माग सम्बोधन गर्न नगरपालिकाले चासो नदिएको बताए । उनले नगरपालिकाले दुइ तिहाइको दम्भ देखाएको आरोप लगाउँदै नगरपालिकाले जनताको कुरा नसुने नगर प्र्रमुखलाई बहिस्कार गर्ने बताएका छन् । बनेपा नगरपालिका वडा नम्वर ९ का सदस्य नेत्र प्रसाद अधिकारीले स्थानीयको आन्दोलन पार्टीगत नभएको बताए । उनले कांग्रेसको पक्षमा र मेयरको विरुद्धमा नारावाजी नभएको पनि स्पष्ट पारेका छन् । यो विषय राजनीतिसँग सरोकार नभएको उनको भनाई थियो । यता, नगरपालिकाले भने उक्त मेसिनबाट कुनै पनि प्रकारका फोहोर जलाउँदा धुवाँ, धुलो र ध्वनि प्रदूषण नहुने र हालसम्म २९ देशमा सफल परीक्षण भएको जनाएको छ । दुबै पक्ष आ–आफ्नो अडानमा रहेकाले फोहोर ब्यबस्थापनको बिषय झनै पेचिलो बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया