• दृष्टि खबर

पनौती । पनौती नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को संक्रमणलाई नगरभित्र फैलिन नदिने उदेश्यले यस्तो प्रयास गरिएको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले जानकारी दिए । उक्त कार्यको सुरुवात आज पनौती बसपार्कबाट भएको छ । नगरभित्र मानिसको जमघट बढी हुने र सार्वजनिक स्थानमा कीटनाशक औषधी छरिने उप प्रमुख गिता बञ्जाराले बताइन् । यसले संक्रमण रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

पनौती नगरपालिकामा १३ शैयाको क्वारेन्टाइन तयार
विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले १३ शैयाको क्वारेन्टाइन तयार पारेको छ । खोपासी प्राथमिक स्वास्थ्य केन्द्र नजिकै रहेको साहारा जेष्ठ नागरिक समाजको भवनमा क्वारेन्टाइन बनाइएको हो । उक्त क्वारेन्टाइनको संविधानसभा सदस्य राहरी सुवेदी, बागमती प्रदेशसभा सांसद चन्द्र लामा, बसुन्धरा हुमागाँई, पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, उप–प्रमुख गिता बञ्जारा, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, पनौती प्रहरी चौकी इन्चार्ज सुशील घिमिरे लगायतले निरिक्षण गरेका छन् ।

यो सहित पनौतीमा निर्माणाधिन क्षेत्रीय रंगशालालाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएकाले ४३ बेडको क्वारेन्टाइन लगभग तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा संयोजक तिमल्सिनाले बताए । नगरमा रहेका अन्य उपयुक्त स्थानलाई पनि आवश्यकता अनुसार प्रयोग गर्ने नगरपालिकाले जनाएको छ । त्यसका लागि सामाग्री व्यवस्थापन नगरपालिकाले गरिरहेको छ । त्यस्तै नगरभित्र रहेका ३ वटा एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

विदेशबाट फर्किएका ६६ जना सम्पर्कमा

पनौती नगरपालिकामा पछिल्लो समय विभिन्न मुलुकबाट आउने ६६ जना सम्पर्कमा आएका छन् । उनीहरु मध्ये केहि आफै नगरपालिकाको सम्पर्कमा आएका हुन् भने केहि स्थानीय, जनप्रतिनिधि र स्वास्थ्यकर्मी मार्फत सम्पर्कमा आएका हुन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएका छन् ।

अन्य व्यक्तिहरु कतार, दुवई, मलेशिया, थाइल्याण्ड, बहराइन लगायतका देशबाट आएका छन् । उनीहरुलाई स्वास्थ्य परिक्षण पश्चात घरमा नै क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो । विदेशबाट आउनेहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ । विदेशबाट आउनेमा सबैभन्दा बढी वडा नम्वर ४ मा रहेका छन् ।

तपाईको प्रतिक्रिया