• दृष्टि खबर

रोशी–कोरोना भाइरस संक्रमणको जोखिमका कारण काभ्रेका शहरबजार सुनसान भएपनि रोशी गाउँपालिका–२ काफल डाँडामा रहेको तीन धारे झरनामा भने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।

उक्त झरना जिल्ला सदरमुकाम धुलिखेलबाट ४० किलोमिटर दुरीमा छ । विशेषगरी ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै तीन धारे झरनामा पुग्न सकिने भएकोले मनोरम दृश्यावलोकनका लागि मानिसहरु यस ठाउँमा पुग्दछन् । झरना भएको स्थानमा पुग्न १ किलोमिटर पैदल हिँड्नु पर्दछ । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको वडा अध्यक्ष पोते लामाले जानकारी दिए ।

लकडाउनअघि सम्म मानिसको खासै चहलपहल नहुने यस ठाउँमा अहिले भने झरना अवलोकनका लागि दैनिक ४÷५ सयको संख्यामा मानिसहरु आउने गरेको वडा अध्यक्ष लामाले बताए । हिजो शनिवार मात्र ८ सय भन्दा बढीले झरनाको अवलोकन गरेका छन् । यस क्षेत्रलाई गाउँपालिकाले पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको छ । पर्यटकको संख्या एक्कासी ह्वात्तै बढ्नुले तीन धारे झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज भएपनि कोरोनाको त्रासकाबिच ठुलो संख्यामा चहलपहल हुनु ठिक नभएको लामाको भनाई छ ।

मानिसको भिडभाड रोक्न सुरक्षा निकायले पहल नगरेको उहाँको गुनासो छ । तर झरनासम्म पुग्ने बाटोहरु धेरै भएकाले मानिसहरुलाई रोक्न प्रहरीलाई पनि कठिन देखिएको छ ।

तपाईको प्रतिक्रिया