• दृष्टि खबर

काभ्रे – सरकारले लिएको एक स्थानीय तह एक औद्योगिक ग्रामको लक्ष्य अनुरुप काभ्रेका तीन स्थानीय तहमा औद्योगिक ग्रामको स्थापना हुने भएको छ । जिल्लाको पााँचखाल नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरपालिकाले आफ्नो स्थानीय तहमा औद्योगिक ग्राम बनाउने लक्ष्य अनुरुप काम अघि बढाएका छन् ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर–७ सानोपिप्लेमा औद्योगिक ग्राम निर्माण सुरु भएको छ । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखालमा निर्माण हुने ग्राम हरित महिला औद्योगिक ग्राम हुने बताए । उनले स्थानीय महिलाहरुको शसक्तिकरण हुने गरी स्थानीय उत्पादनहरुको प्रशोधन, प्रर्वद्धन, ग्रेडिङ र ब्रान्डिङ गर्ने लगायतका उद्योगहरु स्थापना गरिने बताए । । पाँचखाल –७ को सानोपिप्लेमा रहेको ९९ रोपनी जमिनमा ग्राम निर्माण हुनेछ ।

पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०६७÷०७७ मा आएको ९२ लाख रुपैँया बजेट मध्येबाट ग्रामसम्म पुग्ने पहुँच मार्ग निर्माण तथा नाली व्यबस्थापन तथा सडक ग्राभेल गर्ने काम र एक लाख लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरेको पाँचखाल नगरपालिका योजना शाखा प्रमुख राजेश बञ्जाराले जानकारी दिए ।

यस्तै जिल्लाको रोशी गाउँपालिका–११ कालढुङ्गामा पनि औद्योगिक ग्राम निर्माणको लागि काम अघि बढेको छ । गाउँपालिका प्रमुख दलबहादुर (डिबि) लामाले ग्राम निर्माणको लागि डिपिआरको काम सकिएर ठेक्काको प्रक्रियामा रहेको जानकारी दिए । उनले ग्राम निर्माण हुने जमिनमा २० घरधुरी बसोबास गरेकोले सूचना निकालेर उहाँहरुलाई हटाउने काम अन्तिम चरणमा पुगेको बताए । उनले बस्ती छोडेका सर्वसाधारणको घर निर्माणको लागि गाउँपालिकाले घडेर सम्याइदिने काम गर्ने बताए ।

गाउँपालिका प्रमुख लामाले ग्राम निर्माणको लागि डिपिआरमा अनुमानित १० करोड रुपैँया लागत लाग्ने भएपनि सरकारबाट ९२ लाख रुपैँया बजेट प्राप्त भएको बताए । रोशीमा ७० रोपनी क्षेत्रफलमा ग्राम निर्माण हुनेछ । उनले रोशी क्षेत्रभित्र कुन–कुन उद्योगहरु स्थापना गर्न सकिन्छ तिनै उद्योगहरु स्थापना गरिने बताए ।

यता धुलिखेल नगरपालिकाले वडा नम्बर– १० काभ्रे भञ्ज्याङ नजिकैको सार्वजनिक जग्गामा ग्राम निर्माण गर्ने भएको छ । धुलिखेल नगरपालिकाले पहिलो चरणमा ग्राम निर्माण हुने स्थानको फिल्ड सर्वेको काम सकेको नगरपालिकाका सव–इन्जिनियर हरिचन्द्र लामिछानेले जानकारी दिए । उनले ग्राम निर्माणको लागि ९२ लाख रुपैँया बजेट आएको र यसबाट ग्रामसम्म जाने पहुँच मार्ग निर्माण गरिने र बाँकी रकमबाट जग्गामा कम्पाउण्ड वाल लगाउनेलगायतका काम हुने बताए । उनले पहुँच मार्ग निर्माणको लागि टेण्डर निकालिसकिएको र एक÷दुई दिनमा नै ठेक्का सम्झौता हुने बताए ।

तपाईको प्रतिक्रिया