• कपिल दनुवार

बनेपा–दोलखा सैलुङ्ग गाँउपालिका–८ स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ११ मा बस्दै आएका ५५ बर्षिया कृष्ण बहादुर धानुकले डोको बुनेर गुजारा गर्दै आएका छन ।

३० वर्ष पहिले घर छाडेका उनी पेशामा लाग्नु पूर्व यस सम्बन्धि तालिम समेत लिएका थिए । उनी सानै उमेर देखि यस पेसामा संलग्न थिए । धानुक बिदेश पलायन समेत भए । ६ वर्ष मलेसिया बसेर आएका उनी एक दशक देखी डोको बुन्ने पेशामा छन । उनी अहिले यहि काम बाट ४ जनाको परिवार पाल्दै आएका छन् । उनले दिनमा २÷३ वटा सम्म डोको तयार गर्छन । उनले बनाएको निगालोको डोको बलियो हुने भएकोले विभिन्न ठाँउबाट डोको लिनको लागि मानिसहरु आउने गरेको बताए । उनले बुनेको डोको प्रतिगोटा ३५० देखि ४०० सम्ममा बिक्रि हुने गर्दछ ।

उनले भने “बिहानै उठ्छु, हात मुख धुन्छु अनि गाँउ तिर गएर निगालो किनेर ल्याउँछु । फेरि खाना खाएर चोया कदना र डोको बुन्न थाल्छु । कहिले काँहि त राति १० बजे को पनि पत्तो हुदैन ।” बिगतमा मैले पेट पाल्नकै लागि धेरै संघर्ष गरे  । तर अहिले म यहि काम बाट मासिक ३० देखि ३५ हजार सम्म कमाउछु ।

उनले ३ वर्ष देखि बनेपा ११ मा २ रोपनी जग्गा भाडामा लिई टहरो बनाइ डोको बुन्ने काम गर्दै आएका छन् । उनले सोहि जग्गामा सिजन अनुसारको खेतिबालि लगाउने गरेका छन भने ४ ओटा बाख्रा र गाइ समेत पालेका छन । मेहनत गरेर काम गर्न सके राम्रै कमाइ हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया