• कपिल दनुवार

उदयपुर- उदयपुरको कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुट्टाईएको जग्गामा स्थानीयहरुले रातारात बनाएको घर नगरपालिकाले भत्काईदिएको छ ।

नगरपालिकाको कदम प्रति आक्रोशित हुँदै स्थानीयद्वारा नगरपालिकाका मेयर उपमेयर, वडा अध्यक्ष सहित इन्जिनियरको घरमा तोडफोड गरेको छन् ।
सार्वजनिक सरकारी जग्गा किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर बनाएका थिए। नगरपालिकाले घर भत्काई दिएपछि स्थानीयहरु आन्दोलित भएर मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउत, कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको दुई वटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिए । कटारी नगरपालिका र नगरपालिकाका मेयरको सिमानामा जोडिएको छ भने कटारी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षको घर पनि नगरपालिकाबाट ५० मिटरको दुरीमा रहेको छ ।
यस्तै आन्दोलनकारीले जनप्रतिनिधि र इन्जिनियरसहित इलाका प्रशासन कार्यालय कटारीका कार्यालय, इलाका प्रहरी कार्यालय कटारीमा समेत तोडफोड गरेको प्रहरीले जानकारी दिए । इलाका प्रशासन कार्यालयका गाडी समेत तोडफोड गरेको प्रहरीले जानकारी दिए । आन्दोलनकारीहरुले घरको झ्यालका सिसा, ढोका, लगायतमा क्षति हुन गएको प्रहरीले जनाए । यस्तै आन्दोलनको क्रममा उपमेयर माथि हातपात भएको पनि बुझिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको थियो । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिए ।
नगरपालिकाले मान बहादुर दनुवार र सन्त बहादुर सुनुवारको घर भत्काई दिएको छ । आन्दोलनकारीको नेतृत्व बालकृष्ण थापा र सन्त बहादुर दनुवारले गरेको छ । वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा बनेको घर निषेधज्ञामा भत्काई दिइएको आन्दोलनकारीहरुको भनाई रहेको छ ।
यता कटारी नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता दनुवारका अनुसार नगरपालिका भित्रका जग्गा संरक्षणको लागि अख्तियारले पत्र नै काटेर संरक्षण गर्न अनुरोध गरिएकोमा सो ठाउँको जग्गा संरक्षणका लागि पटक पटक सूचना जारी गर्दा अटेर गरेर बनाईरहेको घरमा सामान्य भत्काई दिइएको स्वीकार गरेका छन् । उनका अनुसार पटक पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा खाली गर्न अनुरोध गर्दा पनि भूमाफियाहरुले जग्गा खरिद विक्री गर्ने गरेकोले भूमाफियाले बेचेको सार्वजनिक जग्गामा घर बनाईरहेको पाएपछि भत्काएको प्रवक्ता दनुवारले बताए ।

तपाईको प्रतिक्रिया