तेमाल-काभ्रेको तेमाल गाउँपालिकाको वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । कोरोना महामारीबाट पर्न सक्ने जोखिमलाई ख्याल गर्दै भिडभाड नहोस् र जनतालाई सहज होस् भनेर वडा वडामै यो कार्यक्रम गर्ने तय भएअनुसार बिहीबार वडा नं. ९ बाट भत्ता वितरण थालिएको पालिकाले जनाएको छ ।

पालिका केन्द्र पोखरी नारायणस्थानबाट बैंकिङ सेवा दिदै आएको सिटिजन्स् बैंक तेमालका ९ वटै वडामा पुगेर आर्थिक वर्ष २०७७/७८ को दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता दिन तयार भएपछि लाभग्राहीहरु खुसी भएका छन् ।कोरोना महामारीका बेला स्थानीय लाभग्राहीलाई सहजता प्रदान गर्न भत्ता वितरण कार्यक्रम वडा वडामै तय गरिएको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

तेमालमा ७० वर्ष माथिका बृद्धबृद्धा,एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत २ हजार ९ सय जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताउनुभयो ।यो अवस्थामा जनताको दुखेसो सम्बोधनकै लागि घरदैलो सेवा दिन थालिएको पालिकाका उपाध्यक्ष तामाङको भनाई छ । उहाँले भन्नुभयो-“शनिबार बाहेकको दिन पारेर प्रत्येक वडामा पुगेर भत्ता वितरण गर्नेछौं ।”शुक्रबार वडा नं. ८ मा ६४ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् । बिहीबार आफ्नो वडामा १२५ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको वडाध्यक्ष चन्द्र दोङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया