• कपिल दनुवार

उदयपुर- उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका गर्भवती, सुत्केरी र कोरोना संक्रमित महिलाहरुको लागि पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नगरपालिकाद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमा तथा कोभिड संक्रमित महिलालाई पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतले शुक्रबार संयुक्त रूपमा झोला वितरण गर्दै कार्यक्रम सुरु गर्नुभएको हो ।

नगरका १४ वटै वडाका टोल–टोलमा पुगेर सामग्री वितरण गरिने लक्ष्य रहेको उक्त कार्यक्रम १,३,४,६,७,११,१३,र १४ मा वितरण गरिएको र बाँकी ५ वटा वडामा पनि वितरण को कार्यक्रम भइरहेको नगरका उपप्रमुख भीम कुमारी राउतले बताउनु भयो । ‘कटारी नगरपालिका क्षेत्रमा गर्भवती, सुत्केरी र कोरोना संक्रमित भएका महिलाहरुलाई लक्षित गरेर वितरण गरिएको छ ।

आज एक कार्यक्रम मार्फत उपप्रमुख राउत वडा न ६ को २९ र ७ को ४५ गरी ७४ जना सुत्केरी र गर्भवती महिलाहरुको लागि पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । उपप्रमुख राउतका अनुसार १ थान झोलासहित हुलास बासमती चामल ५ किलोको १ प्याकेट, आयोनुन १ प्याकेट, तोरी तेल आधा लिटरको १ बोतल, काजु १ सय ग्राम, घ्यू आधा केजीको १ डब्बा, ज्वानो २ सय ग्रामको १ प्याकेट रहेको छ । उपप्रमुख राउतका अनुसार ‘पोषण झोलामा नेलकटर १ थान, तौलिया १ थान, काइँयो १ थान, राजमा १ किलो,अन्डा १ क्यारेट,चना १ किलो र हात धुने साबुन ५ थान झोलामा राखिएको छ ।’

नगर क्षेत्रमा सुत्केरी, गर्भवती र कोरोना संक्रमित महिलाहरुलाई पोषिलो खानेकुरा खान र सरसफाई सम्बन्धी चेतना जगाउने उदेश्यले सहयोग गरेको उपप्रमुख राउतले भन्नुभयो। सामग्री पाए संगै गर्भवती तथा सुत्केरी महिला खुसी भएका छन् । गर्भवती तथा सुत्केरी महिलासहित आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर सामग्री वितरण सुरु गरिएको नगर उपप्रमुख राउतले बताउनुभयो।

कटारी नगरपालिका क्षेत्र भित्र रहेका करिब ८ सयदेखि एकहजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया