• कपिल दनुवार

उदयपुर– कटारी नगरपालिकाले सातौँ नगरसभाबाट ६९ करोड ९ लाख २० हजार ५ सय ५० रुपियाँको बजेट सार्बजनिक गरेको छ । नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८⁄०७९ को लागि नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पेश गरेर नीति तथा कार्यक्रम सर्बसहमत पारित भएको छ ।

सभामा नगरउपप्रमुख भिम कुमारी राउतले ६९ करोड ९ लाख २० हजार ५ सय ५० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटको स्रोतमध्ये आन्तरिक आय तर्फ ३ करोड ६० लाख, संघीय सरकार वित्तिय समानिकरण अनुदान ११ करोड ५५ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ६६ लाख २१ हजार, संघीय सरकार राजस्व बाडफाँड १३ करोड १४ लाख ९९ हजार, प्रदेश सरकार राजस्व बाडफाँड २ करोड ९ लाख ५ सय ५० रुपैयाँ, त्यसैगरी सशर्त अनुदान रु. ३८ करोड ४ लाख रहेको छ ।

यस आर्थिक बर्षमा पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिएको छ । पूर्वाधारको विकास नै हाम्रो नगरको लागि पहिलो विकासको खुड्किलो हो भन्ने नाराका साथ बिभिन्न लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । लक्षित कार्यक्रम कृषि, शिक्षा, स्वास्थ्य, पशु विकास, खेलकुद खानेपानी, सडक, वातावरण संरक्षण, सरसफाई कार्यक्रम, विधुत बिस्तार, घरेलु उद्यम सम्बन्धि तालिम तथा महिला विकास लगाएतका क्षेत्रमा नगरपालिकाले रकम बिनियोजन गरिएको छ ।

त्यस्तै कटारी नगरपालिका भित्र रहेका लक्षित समूहका ११ र १२ कक्षामा अध्ययनरत वडा नं. १ देखि ७ सम्मका छात्राहरुलाई शिक्षण प्रतिको लगाव र बिद्यालय आवतजावतमा सहजिकरण गर्नका लागि एक छात्रा एक साईकल उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै उपप्रमुखसँग छात्रा कार्यक्रम अन्तर्गत शैक्षिक अवस्था सुधारका लागि वडा नं. ८ देखि १४ सम्मका बिद्यालयहरुको कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत लक्षित बर्गका छात्राहरुलाई आय आर्जन कार्यक्रम गराउने नीति बनाएको छ ।

एकल महिला, अपाङ्गता भएका ब्यक्तिहरु, पिछडिएका बर्गहरुलाई संगठित गरी रोजगारमूलक तालिमको ब्यवस्था गर्ने साथै यस क्षेत्रमा हुर्कि देशका लागि जीवन उत्सर्ग गर्नुहुने शहिद, शिक्षा, कला, साहित्य, पत्रकारिता, मानवअधिकार, विज्ञान, वातावरण, समाजसेवा लगायतका क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरुलाई उचित पुरस्कारको ब्यवस्था समेत गरिएको छ ।

सामाजिक बिकास तर्फ श्रीमान शहर वा बिदेश गएसगै श्रीमति पनि शहर पस्ने प्रवृत्तिलाई निर्मूल गर्न बुहारीलााई शिक्षा, आवाश्यक सीपसंगै स्वरोजगार बनाउन १०० जना बुहारीलाई प्रति बुहारी ५० हजार देखि १ लाख सम्म लगानी गरी आत्मा निर्भर गराउने लक्ष्य प्रस्तुत गरेको हो । सासु ससुराको हेरचाह गरेको र सन्तान सामुदायिक बिद्यालयमा पढाएकी बुहारीलाई यस्तो अनुदान प्रदान गरिने उपप्रमुख भिम कुमारी राउतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया