बनेपा- गत जेठ २४ गते बिहान काभ्रेको बनेपा तरकारी बजारमा तरकारी व्यवसायीलाई ठक्कर दिई फरार रहेका चालक एक महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले घटनामा संलग्न रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का ३९ वर्षीय दोर्जे शेर्पालाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले शेर्पासँगै उनले चलाएको ना ४ च ४०६९ नं को सवारीसमेत बरामद गरेको छ ।

शेर्पाले चलाएको गाडीले गत जेठ २४ गते बिहान ४ बजेको समयमा बनेपाको पुरानो तरकारी बजारमा तरकारी व्यवसाय गर्दै आएका काभ्रेको पाँचखाल नगरपालिका–१ का ७१ वर्षीय नन्दकेशर तिमल्सिना र झापा लखनपुर दमक गाउँपालिका–८ घर भई हाल बनेपा बस्दै आएकी ३० वर्षीया सबिना बानियाँ राईलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएका तिमिल्सनाको सोही दिन साँझ मृत्यु भएको थियो भने सबिना करिब एक महिनाको उपचारपछि असार १८ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । सडक छेउमा पैदल हिँडेका तिमल्सिना र सबिनालाई ठक्कर दिने सवारी तत्काल पत्ता लगाउन सकेको थिएन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले घटनामा संलग्न सवारी तथा सवारी चलाउने चालकको खोजविनका लागि प्रहरीले दजनौँ सवारी साधन, चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त सवारी साधनको महत्वपूर्ण जानकारी प्राप्त गरेको बताउनुभयो । प्रहरीको बिशेष अनुसन्धान टोली परिचालन तथा विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा सवारी दुर्घटना पश्चात फरार व्यक्ति र सवारी एक महिनापछि पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । उहाँले घटनाको अनुसन्त्रान गर्ने क्रममा यातायात वयवस्था कार्यालय, सवारी वितरक कम्पनी, ग्यारेजहरुमा प्रहरी परिचालन गरी त्यहाँबाट प्राप्त अभिलेखहरुको सुक्ष्म अध्ययन र विश्लेषण गरिएको बताउनुभयो ।

प्रहरीले घटनापछि फरार रहेको उक्त सवारी साधन र सवारी चालक जान सक्ने सम्भावित स्थानहरु काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत प्रहरी टोली खटि गई सुचना संकलन तथा खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा संलग्न भई पक्राउ परेका शेर्पालाई ज्यान सम्बन्धी कसुर( सवारी ज्यान ) मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया