• दृष्टि खबर

मण्डनदेउपुर– काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठुलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ ।  ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा नेपालकै ठुलो हो । ग्राम निर्माणका लागि गत आर्थिक वर्ष बागमती प्रदेश सरकारबाट १ करोड ५० लाख रकम विनियोजन भएकोमा ७७ लाख खर्च भएको छ ।

प्रारम्भिक चरणमा करिव ७० रोपनी जमिन सम्याउने, घेराबार लगाउने र पाले घर निर्माण गर्ने कार्य भएको घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल, काभ्रेका प्रमुख केशव प्रसाद पुडासैनीले जानकारी दिनुभयो । औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि करिव १ सय ५० देखी २ सय वटासम्म उद्योग स्थापना गर्न सकिने उहाँको भनाई छ । उक्त आयोजना सम्पन्न गर्न करिव १८ करोडदेखी २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणाधिन ग्रामको वरपर वस्ती नभएको, ठुला रुखहरु काट्नु नपर्ने, देशको केन्द्रिय राजधानी काठमाण्डौंबाट नजिक हुनुका साथै छिमेकी मुलुक चिन र भारतबाट पनि अद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउन सहज हुनुले यो आयोजनालाई मुख्य प्राथमिकतामा राखिएको कार्यालय प्रमुख पुडासैनीले बताउनुभयो ।

यस्तै काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछे ले यो काभ्रेली जनतासँगै सिंगो देशको लागि नै खुसीको कुरा भएको बताउनुभयो । बढ्दो शहरीकरणका कारण खुम्चदै गएका उद्योगहरुलाई पुनस्थापित गर्न, रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न यो आयोजना महत्वपुर्ण हुने उहाँको विश्वास छ । सरकार परिवर्तन सँगै यस्ता महत्वपुर्ण आयोजनाहरुको काम पनि प्रभावित हुन्छ कि भन्ने उहाँको चिन्ता छ । जुनसुुकै पार्टी नेतृत्वको सरकार आएपनि आग्रह पुर्वाग्रह नराखी आयोजनालाई सफल बनाउन उहाँको आग्रह छ ।

यस्तै औद्योगिक ग्राम क्षेत्रलाई आवश्यक पुर्वाधार खानेपानी, विद्युत, सडक निर्माणका लागि बहुवर्षिय योजनामा समावेश गरि निर्माण सम्पन्न गराउन पनि घरेलु तथा साना अद्योग कार्यालय काभ्रेले प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया