• दृष्टि खबर

बनेपा– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीको ध्यान संगठन निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ केन्द्रित हुने बाउनु भएको छ । काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अनियमितता भएका विषयमा खबरदारी गर्ने र विकास निर्माणमा अगुवाई गर्ने बताउनुभयो । नेकपा एमाले सरकारमा नभएपनि आफ्नो नेतृत्वको सरकारले अघि सारेका योजना पुरा गर्न सिंगो पार्टी पङति लाग्ने पोखरेलको भनाई छ ।

कार्यक्रममा बोल्दै एमाले नेता टोप बहादुर रायमाझीले सत्तारुढ गठबन्धनलाई अवसरवादी गठबन्धन भएको बताउनुभयो । देशका सबै राजनीतिक पार्टी र विदेशी प्रतिक्रियावादी शक्ति नमिल्दासम्म एमालेसँग लड्ने उपाय नभएपछि गठबन्धन बनाइएको उहाँको आरोप छ ।

यस्तै पुर्व मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रचण्डको कार्यकता र शेरबहादुर देउवाको असली खेतालाको संज्ञा दिएका छन् । माधव नेपाललाई काभ्रेमा चुनाव लड्न आउन समेत उहाँले चुनौती दिनुभएको छ । उहाँले आफुमाथी लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती पनि दिनुभएको छ । बरु जनताबाट भोट लिएर कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन भोट बेच्नेहरु महाभ्रष्टाचारी भएको बास्कोटाको आरोप छ ।

जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा, रेशम लामा, संविधासभा सदस्य रामहरी सुवेदी, प्रदेशसभा सदस्य चन्द्र लामा, गोमा भुर्तेल लगायतका नेताहरुले एमालेलाई एकतावद्ध बनाउँदै आगामी निर्वाचनमा १३ वटै सथानीय तहमा विजय प्राप्त गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया