• दृष्टि खबर

बनेपा– बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि क्षेत्रमा वास्तविक किसानको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले पहुँचवालाको हालीमुहालीले कृषि क्षेत्रको विकास नभएको बताउँदै आफूले पहुँचवालाको हालीमुहाली अन्त्य गर्दै वास्तविक किसानलाई लाभ हुने काम गर्ने बताउनुभयो ।

लामाले ठूलो व्यवसाय, मध्यम व्यवसाय र सामान्य कृषि पेशा गरिरहेका किसानको लागि छुट्टा–छुट्टै कार्यक्रम ल्याउने बताउनुभयो । किसानको वर्गिकरण गरेर सबैलाई समेट्ने गरी कार्यक्रम बनाउने आफ्नो तयारी रहेको उहाँले बताउनुभयो ।

निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएकोले कृषि क्षेत्रमा दिइने अनुदान र सहकारी मार्फत जनतालाई अधिकतम लाभ दिलाउने विषयमा जनताको पक्षमा काम गर्ने मन्त्री लामाले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रम प्रेस चौतरी काभ्रेका अध्यक्ष भुवन रायमाझीको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन सचिव जगत तामाङले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया