• दृष्टि खबर

तेमाल– तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाको संरचनामा करिव ५० लाख बराबरको क्षति भएको छ । साउन १७ र १९ गते आएको बाढीले सुनकोशी नदी किनार स्थित तेमालको चुखाबेंसीमा रहेको आयोजनाको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो ।

बाढीले कारण २ सय वटा ग्याविन, २ सय मिटर जीआई पाइप, बोरिङ भवन लगायतको संरचना बगाएको छ । त्यस्तै नदिले धार परिवर्तन गर्दा निर्माण भएको मुख्य ट्याङ्कीसमेत जोखिममा छ । असोजभित्र नै तेमाल गाउँपालिकाको सबै क्षेत्र, नमोवुद्ध नगरपालिका र रोशी गाउँपालिकाको केहि वडामा खानेपानी वितरण गरिसक्ने योजना रहेकोमा कोरोना महामारी र बाढीका कारण प्रभावित भएको छ । बाँकी कामलाई तिव्र गतिमा अघि बढाउँदै आगामी चैत मसान्तसम्म खानेपानी वितरण गरिसक्ने योजनाका साथ काम भइरहेको अध्यक्ष लामाले बताउनुभयो । उक्त आयोजनाको काम दुई चरणमा गरिएको छ । पहिलो चरण अन्तर्गत ट्याङ्की निर्माणदेखी पानी लिफ्ट गर्नेसम्म अर्थात भौतिक संरचना निर्माणको काम करिव ९८ प्रतिशत सकिएको छ ।

दोस्रो चरण अन्तर्गत पाइपलाइन विस्तारको काम ८२ प्रतिशत सकिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । तर पछिल्लो पटक सुनकोशीमा आएको बाढीका कारण मुख्य संरचना जोगाउन नै धेरै रकम र समय खर्चनु परेको उहाँको भनाई छ । अनुमान गरेभन्दा फरक तरिकाले सुनकोशी नदिले आफ्नो धार परिवर्तन गर्दा संरचना जोगाउन नै अझै केहि रकम खर्चनुपर्ने देखिएको लामाले बताए । यो आयोजनाबाट ९ हजार ३ सय १० धुरीका करिव ६० हजार जनसंख्याले खानेपानी प्राप्त गर्दछन् । खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रुपैयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा आयोजना सञ्चालन गरिएको हो ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सहितको टोलीले आयोजनको अनुगमन गरेको थियो । अनुगमनमा क्रममा पोखरेलले आयोजनाको अवस्था बारे माथिल्लो निकायमा जानकारी गराउने बताउनुभएको छ । सुनकोशी नदि कटानका कारण खेती योग्य भूमी र मानव वस्ती नै जोखिममा परेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

अनुगमन टोलीलाई खानेपानी आयोजनाका अध्यक्ष संग्रामजीत लामा, एमाले उपसचिव एवं समाजसेवी इन्द्र बहादुर तामाङ, तेमाल १ नं. वडाध्यक्ष मान बहादुर श्रेष्ठ, २ नं. वडाध्यक्ष तिमाल सिं तामाङ, स्थानीय शिक्षक उत्तर तामाङले खानेपानी आयोजनाको संरचनाका साथै किसानहरुको खेतबारीमा पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढीको कटानले परेको समस्याप्रति दुख व्यक्त गर्दै खानेपानी आयोजना, स्थानीयको खेतबारीमा पुगेको क्षतिबारे सम्बन्धित निकायमा जानकारी गराई आवश्यक प्रक्रिया चाल्न सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पूर्व राज्यमन्त्री रेशम लामा र एमाले जिल्ला कमिटि उपसचिव इन्द्र बहादुर तामाङले जनताको माग सुनुवाईका लागि पहल गर्ने वचन दिनुभयो । खानेपानी आयोजनाको संरचना बचाउने, स्थानीयको मर्का सम्बोधन गर्ने काममा आफूहरु संवेदनशील रहेको एमाले नेता इन्द्र बहादुर तामाङको भनाई छ । अनुगमन टोलीमा तेमाल १ नं. वडाका वडाध्यक्ष मानबहादुर श्रेष्ठ, २ नं. वडाध्यक्ष तिमाल सिं तामाङ, वडा सदस्य डिल्लीमान तामाङ, इन्सेक प्रतिनिधि हिरामान लामा, युवा संघका नेता खुसराज लामा, पत्रकार महासंघ काभ्रेका सहसचिव जगत तामाङ, पत्रकार विकास तिमल्सिना र प्रदिप भण्डारी समेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया