• दृष्टि खबर

काभ्रे– काभ्रे जिल्लामा पनि विविध कार्यक्रम सहित बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन काभ्रेको आयोजनामा जिल्लामा बालबालिकाको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवालाको भुमिकाका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी प्रमुख भुपेन्द्र खत्री, जिल्ला बाल संगठनका अध्यक्ष बिदुर हुमाँगाई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, जिल्ला बाल सन्जालका अध्यक्ष सुवोध धिमाल लगायत विभिन्न स्थानीय तहका बालबालिकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले बालबालिकाको अवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा जिल्ला बाल संगठनले धुलिखेलमा रहेको बाल मन्दिर आधारभुत विद्यालयका ६५ जना विद्यार्थी र पाँचखाल बालगृहका २८ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको बाल संगठन जिल्ला सचिव सन्जिव न्यौपानेले जानकारी दिनुभयो । यस्तै धुलिखेल, पनौती लगायतका स्थानीय तहले पनि विविध कार्यक्रम गरि बाल दिवस मनाएका छन् ।

जिल्लाका १३ वटा स्थानीय तह मध्ये हालसम्म धुलिखेल नगरपालिका र पनौती नगरपालिका मात्रै बालमैत्री स्थानीय तह घोषणा भएका छन् । पछिल्लो समय बालबालिकामाथी हुने अपराधका घटनामा वृद्धि हुँदै गएको छ । एक वर्षको अवधिमा जिल्लामा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् भने २० जना बलात्कारको सिकार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन । यस्तै ३ जनाले बाल विवाह गरेका छन् । बालबालिका माथी हुने अपराधका घटना न्युनीकरणका लागि समयमा नै उपयुक्त कदम चाल्न सरोकारवालाले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया