• दृष्टि खबर

काभ्रे– ट्रकभित्र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका वडा नम्बर ५ घर भएका ट्रकका चालक ३२ वर्षीय हर्क बहादुर विश्वकर्मा र ट्रकका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका १८ वर्षीय निदिप धिमाल रहेका छन् ।

भाद्र २६ गते राती करिब १२ः३० बजे भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १ श्रृजनानगरबाट पूर्व तर्फ जानको लागि गाडी कुरीरहेका अन्दाजी १३ वर्षीय बालिकालाई गन्तव्य सम्म पुर्याईदिन्छु भनि ल्याई राति १ः३० बजे बनेपा नगरपालिका वडा नम्बर १२ साझा पेट्रोल पम्प अगाडि रोकी उनीहरुल जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी खतिवडाले बताउनु भयो ।
उहाँले बालिकालाई जर्वजस्ती करणीपछि गन्तव्यमा नपुर्याई त्यही छोडी ट्रक लिएर भागेको बताउनुभयो । करणी पश्चात विक्षिप्त अवस्थामा भक्तपुरतर्फ एक्लै हिडिरहेको बालिकालाई प्रहरीले सोधपुछ गर्दा नम्बर नखुलेको ट्रकका चालक र सहचालकले जर्वजस्ती करणी गरेको बताएपछि प्रहरीले उक्त ट्रकको खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा जर्वजस्ती करणी गरी फरार रहेको ट्रकका चालक तथा सहचालक खोजी गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक भएको पत्ता लगाएको थियो । प्रहरीले उक्त ट्रकले साँगाबाट बनेपा आईपुग्न धेरै समय लगाएको देखिएपछि अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । उहाँले उक्त ट्रक सोमबार मोरङबाट विपी राजमार्गहुँदै काठमाडौँतर्फ आउँदै गरेको सूचनाको आधारमा मङ्गलबार बिहान ट्रक चालक विश्वकर्मा र सहचालक धिमाललाई नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रहरीले जर्वजस्ती करणी आरोपमा पक्राउ परेका दुवैलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया