• दृष्टि खबर

काभ्रे– विश्व अण्डा दिवस २०२१ को अवसर पारेर पनौती नगरपालिकाले गर्भवती र स्तनपान गराइरहेका महिलालाई निःशुल्क अण्डा वितरण गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ चौकोट स्थित सुब्बागाउँ स्वास्थ्य चौकीबाट ५८ जना महिलालाई अण्डा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ ।

पनौती नगरपालिका कृषि तथा पशुपक्षीं शाखाको आयोजना तथा पनौती ५ बाँसघारीमा रहेको लक्ष्मी दाना उद्योगको प्रायोजनमा अण्डा वितरण गरिएको हो । यस्तै कार्यक्रमका लागि पोल्ट्रि व्यवसायी मञ्च काभ्रेले सहकार्य गरेको छ । महिलाका लागि सुनौलो हजार दिनमा प्रोटिन, भिटामिन र मिनरतयुक्त अण्डा नियमित सेवनले पौष्टिक आहार परिपुर्तिमा मद्धत गर्दछ । त्यहि कारण अण्डा वितरण कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराले गर्भावस्थामा ख्याल नपुर्याउँदा आमा र बच्चा दुबैको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भएकाले नियमित खानपान र स्वास्थ्य परिक्षणमा जोड दिन आग्रह गरेकी छन । नगरका सबै वडाका गर्भवती र स्तनपान गराइरहेका महिलालाई अण्डा वितरण गर्ने तयारी गरिएको पनौती नगरपालिका कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए ।

अण्डा वितरणको उदेश्य पौष्टिक आहारको महत्व बारे जनचेतना जगाउनु पहिलो उदेश्य रहेको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाको भनाइ छ ।  यो अभियानले आवश्यक पौष्टिक तत्व पाइनुका साथै स्वास्थ्य परिक्षण समेत नियमित गर्न सघाउने उनको विश्वास छ ।  यस्तै पोल्ट्रि व्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले जनताको स्वास्थ्यसँग जोडिएको विषयमा नगरपालिकासँग सहकार्य गरेर काम गर्न पाएकोमा खुसी लागेको बताएका छन । उनले आगामी दिनमा पनि सहकार्यका लागि इच्छुक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार मधुसुदन गुरागाँइ, स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँइकेल लगायतले मानव शरिरका लागि अण्डाको महत्वको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया