भकुण्डे– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुण्डेमा युवा उद्यमीहरुद्वारा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको छ । नमोबुद्ध नगरपालिकाकै मुख्य बजार तथा भकुण्डेबजार स्थित विपी राजमार्गको छेवैमा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको हो ।

‘द मःम फ्याक्टरी’ को प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङ (बमध्वज) ले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । शनिबारबाट शुभारम्भ भएको ‘द मःम फ्याक्टरी’को सांसद दोङले रिबन काटेर उद्घाटन गरेका थिए भने लामा गुरुले पुजापाठ समेत गरेको थियो ।
उद्घाटन पछि सांसद दोङले भकुण्डे बजारमा ‘द मःम फ्याक्टरी’ को सञ्चालनमा ल्याएकोमा युवा उद्यमीहरुलाई धन्यवाद दिए । दोङले ‘द मःम फ्याक्टरी’ सञ्चालन गरेर रोजगारको सिर्जना मात्र गरेको नभइ युवाहरुलाई उद्यमी बन्न प्रेरणा समेत दिएको बताए । ‘म युवा उद्यमी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । उनले भने, ‘पूँजीवादको पूर्ण विकास गर्दै वैज्ञानिक समाजवादमा जानलाई पूँजी निर्माण गर्नुपर्ने छ । हरेक युवा उद्यमी बन्यो भने समाजवादी क्रान्ति हाम्रै पालोमा सम्पन्न हुनेछ ।’ सरकारको तर्फबाट गर्नुपर्ने सहयोग सदैव गर्नका लागि समेत आफूले सरकार समक्ष माग राख्ने उनले प्रतिबद्धता जाहेर गरे ।

बीपी राजमार्गकै छेउमा भएकोले काठमाडौंदेखि पूर्व चल्ने यात्रुहरुले समेत यहाँबाट सेवा लिन सक्ने छ । भकुण्डे बजारमा सबैभन्दा ठूलो लगानी गरेर युवा उद्यमीहरुले ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको हो । ७ जना युवा उद्यमीहरु मिलेर सञ्चालनमा ल्याएको यस मम फ्याक्टरीमा करिब १ करोड लगानी गरेको सञ्चालक बीरमान लामाले जानकारी दिए ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगर पालिकाकाको केन्द्र भागमा रहेको यो बजारमा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएपछि ममका ‘आइटम’हरुका लागि अरु स्थानमा पुग्नु नपर्ने सञ्चालक लामाले बताए ।

काठमाडौंदेखि सुदुरपूर्वसम्मको यात्रा यसै बजारबाट हुनेभएकोले आफूहरुले सञ्चालन गरेको ‘द मःम फ्याक्टरी’मा ग्राहकको रुची अनुसारको खानेकुराको व्यवस्था गरेको उनको भनाई छ ।

‘द मःम फ्याक्टरी’ मा बर्गर बाहेक सबैखालको खानेकुराको स्वाद लिने सक्ने उनले जानकारी दिए । ‘मःम मात्र यहाँ ३५ ‘आइटम’को पाइन्छ । हामीले ‘हाइजेनिक’ मा जोड दिएका छौं ।’ सञ्चालक लामाले भने, ‘सुदुरपूर्वदेखि काठमाडौंसम्मको यात्रा यहींबाट गर्नुपर्ने भएकोले थकान मेटाउन, रुची अनुसार खानेकुरा खानको व्यवस्था गरेका छौं ।’

‘द मःम फ्याक्टरी’ युवा उद्यमीहरु पेमा लामा, वाङच्यु लामा, प्रसान्त खनाल, विजय लामा, अप्रिल लामा, लावाङ लामाले सञ्चानलमा ल्याएको हो ।

उद्घाटनमा नेपाली काँग्रेसका नगर सभापति कुन्छाङ लामा, नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मेलबहादुर लामा, वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामा लगायत, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, सर्वसाधारणहरु पुगेका थिए ।

तपाईको प्रतिक्रिया