• दृष्टि खबर

पनौती– पनौती नगरपालिकामा शुक्रबार दुई वटा मुक्तक संग्रह एकसाथ लोकार्पण गरिएको छ । कवि एवं नियात्राकार प्रदीप सापकोटाद्वारा लिखित ’मनको वारपार’ तथा कवि पूर्णबहादुर श्रेष्ठको ’पूर्णपात्र’ लोकार्पण गरिएको हो ।

समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा भएको कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डाक्टर लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा, साहित्यकार सुर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको विकासको निम्ति नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको बताए । मुक्तक संग्रह ’मनको वारपार’ को बारेमा समालोचक डाक्टर निरौला तथा ’पूर्णपात्र’ को बारेमा साहित्यकार लाकोजुले टिप्पणी गरेका थिए । मनको वारपारमा १ सय १ वटा समसामयिक राजनीतिक दुराबस्था, प्रेम विछोड, अभाव, अमानवीयता जस्ता बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएको छ ।

कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले राखेका थिए भने कृतिका श्रस्टाहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी लागेको बताए । यस्तै पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गरेका थिए ।

कृति लोकार्पण कार्यक्रममा उप–प्रमुख गिता बञ्जारा, साहित्यकार डाक्टर सुमन ताम्राकार, गायक विजयराम कर्माचार्य, शिक्षासेवी रामप्रसाद अधिकारी, साहित्यकार तुयुकाजी ताम्राकार, कथाकार दिनमान गुर्माछन लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया