• विकास तिमल्सिना

पनौती- पनौती नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने र उप–प्रमुख गिता बञ्जाराले संयुक्त रुपमा भवन उद्घाटन गर्नुभएको हो ।

बाजागाजा सहित भव्य रुपमा भवन उद्घाटन गरिएको छ । मुल्य अभिवृद्धि कर (भ्याट) सहित ४ करोड ४१ लाख ७९ हजार ८ सय ५३ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । उक्त भवनमा २१ वटा कोठा, एउटा सभा हल रहेको छ भने हरेक तलामा महिला र पुरुषका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ । वडा कार्यालय भवन निर्माणका लागि घिसिङ/जोशी जी/विजय जे.भी. सँग २०७६पुस २३ गतेसम्झौता भएको थियो । २०७७ चैत १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि कोरोना महामारी लगायतका कारण एक महिना ढिलो गरी २०७८ बैशाख २० गते निर्माण सम्पन्न भएको थियो ।

उद्घाटन कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वुद्ध सिं थापाको सभापतित्व रहेको थियो भने पुर्व नगर प्रमुख सप्तकाजी वुद्धाचार्य, पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, नेकपा एमाले पनौती ४ का वडा कमिटी अध्यक्ष दिपक दाहाल, नेपाली कांग्रेसका वडा सभापति महेश थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भिम न्यौपानेले थोरै स्रोतबाट पनि धेरै विकास गर्नुपर्ने अवस्था रहेकाले प्राथमिकता निर्धारण गरि विकास निर्माणका काम अघि बढाइएको बताए ।

यस्तै उप–प्रमुख गिता बञ्जाराले वडा नम्बर ४ मा खानेपानी, सिँचाई, खेलकुद लगायतका क्षेत्रमा योजनावद्ध रुपमा काम भइरहेको बताइन् । कतिपय ठाउँमा भौगोलिक जटिलताका कारण चाहेर पनि सोचे अनुरुप काम हुन नसकेको उनको भनाई थियो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत इन्द्र पूसाद अधिकारीले सुविधासम्पन वडा कार्यालय बनेसँगै मुस्कान सहितको सेवा दिन कार्यालय सफल हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य नगर कार्यपालिका सदस्य राधिका बि.क. ले राखेकी थिइन् । यस्तै कार्यक्रम सन्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।

पनौती नगरपालिकाले हरेक वर्ष एउटै डिजाइनका २ वटा वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसअनुसार वडा नम्बर ३ र ४ को भवन निर्माण सम्पन्न भइसकेको छ भने ९ नम्बर वडा कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया