नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको तयारी कसरी भइरहेको छ ?
हामी नेकपा एमालेको १० जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा छौं । हामीले स्वयंसेवकको जिम्मेवारी प्राप्त गरे सँगै स्वागतको तयारी गरिरहेका छौं । पार्टीले निर्दिष्ट गरेको नियमित बैठकहरु सम्पन्न गरेका छौं । जसमा स्वयंसेवकहरुको संख्या तय भएको छ । स्वयंसेवकका लागि आवश्यक पर्ने ड्रेस कोडहरु, ज्याकेट, व्याचलगायतका कुराहरु निर्माणको प्रक्रिया अगाडि बढाइरहेका छौं । हामी स्वयंसेवकलाई दिएको दायित्व राम्रोसँग निर्वाह गर्नुपर्ने कर्तव्य रहेको छ । हामीले जनवर्गीय संगठन लगायत सिंगो पार्टीलाई समाविष्ट गरेर तयारीलाई अन्तिम रुप दिएका छौं ।

असंख्य मात्रामा जनसहभागिता हुँदा हुनसक्ने जोखिमलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
नेकपा एमाले जनताको प्रिय पार्टी भएको सन्दर्भमा यसले लिएको नीति, विचार, सिद्धान्त र कार्यक्रमलाई मन पराउने जनमानस आजपनि धेरै रहेको हुँदा यो अधिवेशन भव्य र सभ्य हुने कुरामा कुनै दुईमत छैन । त्यहि अनुरुप नेकपा एमालेले यसको तयारी तिव्ररुपमा गरेको छ । हामी स्वयंसेवक परिचालनको हैसियतले गर्नुपर्ने भूमिका अन्तर्गत रहेर खुल्ला सत्रलाई दृष्टिगत गर्दै सुरक्षाको हिसाबले जनमानसलाई कन्ट्रोल गर्दै जनपरिचालन गर्नुपर्ने अवस्था छ त्यहि अनुसार हामी अगाडि बढिरहेका छौं । हामीले खुल्लासत्रको सुरुवाती देखि नेतृत्व हस्तान्तरणको समय अवधि सम्म निष्पक्ष ढंगबाट स्वयंसेवकको भूमिका निभाउनेछौं ।

कति युवा परिचालन हुनेछन अधिवेशनमा ?
पार्टीले हामीलाई एउटा सीमा तोकिदिएको सन्दर्भमा खुल्ला सत्रमा ३ सय र बन्द सत्रमा १०० जना सम्मको युवा परिचालन हुनेछ । नेकपा एमालेको लोकप्रियता बढ्दो छ । हामीले लगभग ५० हजार जनता आउने अनुमान गरेका छौं । हामी तयारीकै अवस्थामा भएको कारण त्यो संख्या बढ्न पनि सक्नेछ । हामीकहाँ युवा संघबाट २ सय, अनेरास्ववियूबाट १ सय भन्दा माथि स्वयंसेवकको सूची छ । यसरी विभिन्न जनवर्गीय संगठनबाट, वडा तहबाट, १३ वटै पालिकाहरुबाट स्वयंसेवकहरुको सूची आइरहेको अवस्था छ । पार्टीले निर्दिष्ट गरेको संख्या भन्दा केहि मात्रामा स्वयंसेवकहरुको संख्या बढ्ने देखिन्छ ।

भिडभाड नियन्त्रणमा समस्या देखिए कसरी स्वयंसेवकलाई सम्पर्क गर्ने ?
यसलाई हामीले पहिलो बैठकमा नै दृष्टिगत गर्दै स्वयंसेवकको केहि ड्रेसकोड चिन्हहरु प्रदान गरेका छौं । त्यस्तै व्यक्तिगत रुपमा सम्पर्क गर्ने, वाकीटकीमार्फत पनि एकबाट अर्काेमा सम्पर्क गर्ने व्यवस्था मिलाएका छौं । यसकारण हामीले सम्भावित दुर्घटनालाई कम गर्न, सुरक्षालाई मजबुत गराउने, विरामीलाई व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्थापन गर्ने लगायतका जिम्मेवारी बहन गर्ने गरी तयारीका साथ रहने छौं । पार्टीले दिएको जुनसुकै जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्न हामी तयार र तत्पर छौं ।

अधिवेशनमा युवाहरुको प्रतिनिधित्व कसरी गराउँदै हुनुहुन्छ ?
अधिवेशनकै सन्दर्भमा स्वयंसेवकहरुलाई कसरी परिचालन गर्ने क्रम यसलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ जोड दियौं । युवा विद्यार्थीहरुको विशेष भूमिका स्वयंसेवककै कमिटीमा रहेको हुनाले यतैतिर व्यस्त भएको अवस्था छ । पार्टीले १३५ वटै वडाहरुमा र १३ वटा पालिकास्तरीय अधिवेशनको सन्दर्भमा प्रतिनिधि छनौट कार्यहरु सम्पन्न गरिसकेको छ । नेपाली राजनीतिको पेरिफेरीमा युवाहरुले जति नै चर्काे कुरा गरेपनि नेतृत्वमा युवाहरु स्थापित नभैदिँदा युवाहरुको आन्दोलन केवल प्रयोगात्मक आन्दोलन मात्र हुन पुगेको छ । पछिल्लो राजनीतिक गतिविधिलाई हेर्ने हो भने युवाहरुको प्रतिनिधित्व हस्तक्षेपकारी ढंगले अगाडि बढिरहेको छ । वडा तहको प्रतिनिधि छनौट सन्दर्भमा भन्ने हो भने युवाहरु हस्तक्षेपकारी ढंगले आइरहेको मैले पाएको छु । यसमा युवा प्रतिनिधिहरुले आफ्नो स्वविवेक र निर्णय गर्न पाउने हो भने युवाहरुको हस्तक्षेपकारी उपस्थिति हुन सक्छ भन्ने मलाई लाग्छ ।

तपाईको प्रतिक्रिया