• दृष्टि खबर

काभ्रे । २०७४ सालमा नेकपा एमालेले १ सय ३५ वडा मध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो । एमाले फुटेको र गठवन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ । प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ । ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ । ७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ ।
२०७४ मा विजयी भएको वडाहरुमा पराजय भोगेको भए पनि नयाँ वडाहरुमा एमालेले पकड जमाएको छ । रोशीमा गोला प्रथामा एउटा वडामा पराजय भोगेको एमालेले खानिखोलामा एक मतले पराजय भोग्नु परेको छ । पनौती १२ मा ६ मतले पराजय ब्यहोरेको छ । कोशिपारीको चौरीदेउरालीमा पनि एमालेले थोरै मतान्तरले पराजय ब्यहोरेको छ । टिकट वितरणका कारण एमालेले केहि स्थानमा पराजय ब्यहोरेको निश्कर्ष निकालेको छ । नेपाली काँग्रेसले २०७४ मा ४९ वटा वडामा विजय प्राप्त गरेको थियो । ४ वटा पालिकामा ८ सिट जितेको नेपाली काँग्रेसले यो पटक १३ सिट सहित ६१ वडामा विजय प्राप्त गरेको छ । गठवन्धनका कारण नेपाली काँग्रेसले धेरै लाभ लिएको छ । ७ सय १ मध्ये काँग्रेसको ३ सय १६ सिटमा विजय भएको छ । गठवन्धनको लाभ नेकपा माओवादीले पनि प्राप्त गरेको छ । २ वटा पालिकामा ४ सिट र २३ वटा वडामा विजयी भएको थियो । गठवन्धनका कारण माओवादीले ४ वटा पालिकामा ७ सिट र २४ वटा वडामा विजय हासिल गरेको छ । माओवादीले कुल १ सय ११ सिटमा विजय हासिल गरेको छ । नेपाली काँग्रेस र माओवादी दुबैले विगतमा जितेका वडाहरुमा पराजय ब्यहोरेको छ भने नयाँ वडाहरुमा विजय हासिल गरेको छ । नेकपा समाजबादीले एक पालिकामा प्रमुख र ४ वटा वडामा विजय हासिल गरेको छ । कुल प्राप्त गरेको २१ सिटमा पनि गठवन्धनले सघाएको छ । राप्रपा नेपालले १ एउटा वडामा मात्रै विजय हासिल गरेको छ । २०७४ मा एमालेले ५६, काँग्रेसले ४९, माओवादीले २३, राप्रपाले ३, फोरम २, स्वतन्त्र २ जनाले वडामा विजय हासिल गरेका थिए । २०७९ मा नेकपा एमालेले ४३, काँग्रेसले ६०, माओवादीले २५, समाजवादीले ४, स्वतन्त्र २ र राप्रपा १ जनाले वडामा जितेका छन् ।

एमालेमा मतदाता आर्कषित
१६६०८ थपियो मत
धुलिखेल÷स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो । एमालेले थपिएका मतदाताहरुको आर्कषण बढाउँदै एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६६०८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५२५५ मत प्राप्त गरेको छ ।
गठवन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेशवादी दलहरु समेतको कुल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ । एमालेको भन्दा गठवन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा २९ हजार २ सय ७५ रहेको छ ।
२०७९ सालमा गठवन्धनको मत प्रमुख र अध्यक्ष पदमा १ लाख ६ हजार २ सय १० मत प्राप्त गरेका छन् उपप्रमुख र उपाध्यक्ष पदमा ९७ हजार ३९ रहेको छ । नेकपा एमाले एक्लैले एमालेको मत प्रमुख र अध्यक्ष पदमा ८५ हजार २ सय ५५ रहेको छ भने उपप्रमुख र उपाध्यक्ष पदमा ८१ हजार ७ सय ३ रहेको छ ।

 

तपाईको प्रतिक्रिया