लोकतन्त्रका लागि देशभर राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सञ्चारकर्मी, विद्यार्थी, मजदुर र सर्वसाधारण सबै चैतेधूपको कुनै पर्वाह नगरी आन्दोलनमा होमिएका थिए । आन्दोलनको कार्यक्रम दिन प्रतिदिन चर्किंदै जाँदा २०६२ साल चैत २६ गते काभ्रेको उग्रचण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भयो । चैत २७ गते दाहालको शव काभ्रेमा ल्याउने तयारी हुँदै गर्दा यहाँ पनि आन्दोलन चर्कियो । हजारौँ नागरिक सडकमा ओर्लिए । आन्दोलनले ठूलो रूप लियो, बनेपाको तीनदोबाटोमा रहेको प्रहरी चौकीमा तोडफोड गर्न आन्दोलनकारी अगाडि बढे । प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली बनेपा नगरपालिका–८ का १४ वर्षीय मुकेश कायस्थको देब्रे कञ्चटमा लाग्यो । उहाँ बीच सडकमै ढल्नुभयो ।

२०६२ साल चैत २७ गते प्रहरीले चलाएको गोली लागेर घाइते हुनुभएका मुकेश कायस्थ अहिलेसम्म ओछ्यानबाट उठ्न सक्नुभएको छैन । उहाँ बोल्न पनि सक्नुहुन्न । उहाँको अवस्था देखेर परिवार, आफन्त र बनेपावासीका आँखा अभैm रसाउन छोडेका छैनन् । मुकेशको स्वास्थ्य अवस्था बुझ्नका लागि पुगेका शु्भचिन्तक तथा सरकारका उच्च पदाधिकारीका आँखा पनि ओभानो फर्किंदैनन् ।

वीर अस्पतालमा ११ महिना उपचार गराएर मुकेशलाई २०६३ साल फागुन ११ गते घर ल्याइयो । बायाँ कञ्चटमा गोली लागेर घाइते भएका मुकेशले तीन हप्तापछि मात्रै आँखा खोल्नुभएको थियो । त्यो बेला मुकेशले तीन महिनामा अलि राम्रोसँग हेर्न, पाँच महिनामा देब्रे हातको पञ्जा सामान्य चलाउन र छ महिनामा सिरानीमा मात्रै मुन्टो हल्लाउन सक्ने हुनुभएको थियो । “वीर अस्पतालमा उपचार गरेर घर ल्याउँदा मुकेश भनेर बोलाउँदा ‘हँु’ भनेर बोल्न खोज्दथ्यो,” आमा मीराले भन्नुभयो । घर ल्याएको एक हप्तामा नै थप उपचारका लागि उहाँलाई फेरि न्युरो अस्पताल, बाँसबारी लगियो । त्यहाँ उहाँलाई सात महिना राखेर उपचार गरियो । “छोरोको स्वास्थ्यमा कुनै परिवर्तन हुन्छ कि भनेर मेडिसिटी, अन्नपूर्ण, न्युरो, स्पार्क हेल्थ होमलगायतका विभिन्न अस्पतालमा लगेर विभिन्न परीक्षण गर्ने, फिजियोथेरापी गर्नेलगायत थुप्रै काम ग¥यौँ तर उसमा खासै परिवर्तन आएन,” आमा मीराले सुनाउनुभयो ।  “पटक÷पटकको उपचारपछि मुकेश भनेर बोलाउँदा खिस्स हाँस्ने, मा भन्ने, हातको पञ्जा समाउने र केही बोल्न खोज्ने, गाह्रो भएपछि आँखाबाट आँसु निकाल्ने गरेको” बताउँदै आमा मीराले भावुक हुँदै भन्नुभयो, “२०७६ सालमा सिजर (छारे)जस्तो रोग देखा परेर मस्तिष्कको नसाले काम नगरेपछि अप्रेसन ग-यौँ, त्यसपछि उसले बोल्न, खान सकेन । जिउ सुकेर गयो, अलिअलि भएको होस पनि हराउँदै गयो । पछिल्ला चार वर्षदेखि उसको स्वास्थ्य झन् जटिल बन्दै गएको छ ।”

मुखबाट खान नसक्ने भएपछि पेटमा पाइप राखेर त्यहाँबाट नै मुकेशलाई झोल कुरा खुवाउने गरिएको छ । “मुकेशजस्ता थुप्रै छोरा जनआन्दोलनमा घाइते, शहीद र अपाङ्ग बनेर देशमा लोकतन्त्र आयो, लोकतन्त्र आउँदा हामी जस्तोसुकै पीडामा हुँदा पनि खुसी थियौँ तर सत्ताका लागि नेताले हानथाप गरेको देख्दा घाइते र शहीदको योगदानको के कदर भयो भनेर मन अमिलो बनेर आउँछ,” मुकेशका बुवा कृष्णमान कायस्थ पनि आँसु पुछ्दै गुनासो गर्नुहुन्छ ।

“सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ दिँदै आएको थियो । अहिले त्यो भत्ता घटाएर दुई लाख १६ हजार मात्र दिन्छ । यो सबैभन्दा दुःखको कुरा हो,” मीरा भन्नुहुन्छ, “हामीलाई सरकारसँग कुनै गुनासो छैन । जनआन्दोलन, मधेश आन्दोलनलगायतका विभिन्न आन्दोलनका घाइते तथा शहीद परिवारको हेरचाह गर्ने सुविधासम्पन्न पुनस्र्थापना केन्द्र बनाइदिए हुन्थ्यो भन्ने हाम्रो माग हो ।”

“अहिले हामी आमा, बुवा छौँ र हाम्रो सन्तानको माया लागेर आउँछ, हामी दुःख–कष्ट भोगेर उसको हेरचाह गर्छौं, यदि हामीलाई केही भयो भने त्यसको हेरचाह कसले गर्छ ? त्यसैले आफन्त नभएका घाइतेहरूको उपचार र रेखदेखका लागि पुनस्र्थापना केन्द्र बनाउन माग गरेका हौँ,” मीराले भन्नुभयो । जनआन्दोलका क्रममा घाइते भएका मुकेश पछिल्लो समय कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा रहे पनि एक्लै भएको बेलामा भने आँखाबाट आँसु खसालेर बस्ने गरेको उहाँ बताउनुहुन्छ ।

“विभिन्न जात्रा–पर्व आउँछ, त्यसले हामीलाई कुनै हर्ष दिँदैन । चौबीसै घण्टा छोरोको रेखदेखमा ध्यान दिनुपर्छ । देशमा शान्ति, सुव्यवस्था, सुशासन भएको खण्डमा हाम्रो छोराजस्ता घाइते तथा शहीदको योगदानका कारण यस्तो भयो भनेर हामी खुसी हुन्थ्यौँ तर यो व्यवस्थाविरुद्ध नारा लाग्दा हामीलाई दुःख लाग्छ । यस्तो बेलामा हाम्रोभन्दा पनि देशको चिन्ता लाग्छ,” मुकेशका बुवा कृष्णमानले भन्नुभयो । मेडिसिटी अस्पतालमा हाम्रो छोराको उपचारका लागि खर्च भएको रकम व्यवस्था गरिदिन पटक–पटक जाँदा बल्लबल्ल त्यो रकम पाएको, अब हामी उपचार गर्न सक्दैनौँ भनेर जबाफ दिएको गुनासो पनि उहाँहरूले गर्नुभयो । सरकारले उपचार गर्दिनँ भन्न मिल्छ र ? मेरो छोरो देशका लागि लडेको हैन र भन्ने प्रश्न पनि उहाँहरूले गर्नुभयो ।

होटल व्यवसाय गर्दै आएका मुकेशको परिवार मुकेश घाइते भएसँगै होटल व्यवसाय छोडेर छोराको स्याहारसुसारमा लागेका छन् । जनआन्दोलनमा घाइते भएका मुकेशको परिवारलाई सरकारले क्षतिपूर्तिबापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न सङ्घसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो । सरकारले पुनः साढे सात लाख रुपियाँ दिएको थियो । माधव नेपाल नेतृत्वको सरकारले जीवननिर्वाह भत्ता चार हजारबाट बढाएर मासिक १० हजार रुपियाँ पु-यायो । झलनाथ खनाल नेतृत्वको सरकारले बैङ्कको साढे सात लाख ऋण मिनाहा गर्र्नुका साथै मुकेशको स्वास्थ्य अवस्था हेर्न एक जना स्वास्थ्यकर्मीको व्यवस्थासमेत गरेको थियो । त्यस्तै बाबुराम भट्टराई नेतृत्वको सरकारले मुकेशको स्याहारसुसार गर्न मासिक छ हजार दुई सय रुपियाँ उपलब्ध गराएको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता दस हजारबाट बढाएर १५ हजार रुपियाँ पु¥याएको थियो ।

सरकारले मुकेशको जीवन निर्वाह भत्ताबापत वार्षिक दुई लाख १६ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नका लागि एक जना स्वास्थ्यकर्मीका लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको छ । २०४८ साल भदौ १९ गते जनैपूर्णिमाको दिन जन्मिएका मुकेश सानैदेखि चुलबुले स्वभावका हुनुहुन्थ्यो ।

साभारः केदार तिमल्सिना (गोरखापत्र दैनिक)

तपाईको प्रतिक्रिया