• दृष्टि खबर

पनौती । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पनौती नगर कमिटीले कक्षा ११–१२ मा दिउसो मात्रै कक्षा संचालन गर्न दिने नगरपालिकाको निर्णय सच्याउन माग गरेको छ । अनेरास्ववियु पनौती नगर कमिटीले अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य राजेश थापा, जिल्ला उपाध्यक्ष हेमराज हुमागाँई, नगर अध्यक्ष गुञ्जन बञ्जाराको उपस्थितीमा नगर प्रमुख रामशरण भण्डारीलाई ज्ञापन पत्र वुझाउँदै उक्त माग गरेको हो । पनौती नगरपालिकाले नगर क्षेत्रमा कक्षा ११ र १२ सञ्चालन गरिरहेका सामुदायिक तथा संस्थात विद्यालयका सरोकारवालासँग समेत कुनै छलफल नगरी कुनै समुहको स्वार्थमा निर्णय गरिएको भन्दै अनेरास्ववियुले भत्र्सना गरेको छ । विहान पढ्ने र दिउसो रोजगार गर्ने विद्यार्थीलाई नगरपालिकाको यो निर्णयले असहज बनाएको छ । शिक्षा लिन पाउने विद्यार्थीको अधिकार समेत खोसिएको अनेरास्ववियुको ठहर छ । पनौती नगरपालिकाबाट २०७९ असार २३ गते दिवा समयमै कक्षा सञ्चालन गर्न पत्र जारी गरिएपनि पत्र सार्वजनिक नगर्न विद्यालयलाई दबाव दिइएको समेत खुलेको छ । नगरपालिकाले हुकुमी शैलीमा जहाँनिया राणा शासनको झल्को दिने गरी सरसल्लाह विनै दिउसोको समयमा मात्रै कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको पनौती नगर कमिटी अध्यक्ष गुञ्जन बञ्जाराले बताए ।
नगरभित्रका केहि विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई नगर प्रमुखले पार्टीगत आस्थाका आधारमा संरक्षण गरेको समेत पाइएको अनेरास्ववियु काभ्रेका उपाध्यक्ष हेमराज हुमागाँईले बताएका छन् । नगर प्रमुखले उनीहरुलाई आ–आफ्नो जिम्मेवारीमा खटाएर विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न निर्देशन दिन समेत उनको माग छ । आफुहरुको मागलाई बेवास्ता गरेमा चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियु पनौती नगर कमिटीले चेतावनी दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया