• कपिल दनुवार

कटारी– उदयपुरको कटारी र घुर्मी सडक खण्ड सिद्धिचरण राजमार्ग अन्तर्गतको बाटो बर्षौ देखि बन्न नसक्दा दुर्घटना बढ्न थालेको छ । मङगलबार बिहान कटारीबाट घुर्मी तर्फ सिमेन्ट बोकेर जाँदै गरेको बा.४ ख.५६७१ नम्रको ट्रिपर कटारी नगरपालिका वडा नम्बर ८ पाखाटोल स्थित कुरिङभन्ज्याङमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

ट्रिपर साईड दिने क्रममा आफै अनियन्त्रित भएपछि सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना पश्चात ट्रिपरमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाँखाटोल निवासी अन्दाजी बर्ष ४० का पुर्ण बहादुर मिरिङचिङ र सोही पाँखाटोल निवासी बर्ष ४५ का नर बहादुर राना मगर रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका डि.एस पी रबिन कार्कीले जानकारी दिनुभयो । कटारी नगरपालिका ८ पाँखाटोल निवासी बर्ष ४० का चन्द्र बहादुर थापा मगर भने गम्भिर घाईते भएका छन् । घाईते मगरलाई उपचारको लागि कटारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । ट्रिपर चालक फरार भएकाले खोजी भैरहेको र घटनाबारे थप आवाश्यक अनुसन्धान भैरहेको डि.एस पी कार्कीले बताउनुभयो ।

सिद्धिचरण राजमार्ग (सगरमाथा राजमार्ग) अन्र्तगत घुर्मी, कटारी र मिर्चैया जोड्ने बाटो पूर्ण रुपमा भत्किएर बर्षौदेखि बन्न नसक्दा सास्ती पूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । बर्षायाममा बाटो पूर्ण रुपमा जिर्ण बने सगै कटारी हुदैँ सोलु, ओखलढुङ्गा, खोटाङ्ग,र सिन्धुली , मिर्चैया सवारी आवत जावत गर्न सास्ती हुने गरेको छ । घुर्मी, कटारी र मिर्चैया करिब ७२.२ किलोमिटर सडक बन्न नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया