• कृष्ण घिसिङ

तेमाल–मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गरेको नेपाली काँग्रेसले काभ्रेमा पनि जिल्ला हुदै गाउँतहसम्म कार्यक्रमहरु थालेको छ ।

अभियानको क्रममा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १,प्रदेशसभा क र ख निर्वाचन क्षेत्रस्तरका कार्यक्रम गरिसकेको कांग्रेसले बुधबार तेमालको पोखरी नारायणस्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको तेमाल गाउँ कार्य समितिका सभापति ज्ञान बहादुर लामाले बताउनुभयो ।

जिल्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा रहनुभएका कांग्रेस केन्द्रिय सदस्य रमा कोइरालाकै प्रमुख आतिथ्यतामा तेमालमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोईरालाले पार्टी र जनताबीचको दुरी मेटाउंदै पार्टीका नीति,कार्यक्रमसँग जोड्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । निर्वाचनको संघारमा आइसकेको सन्दर्भमा एक ढिक्का भएर पार्टीका गतिविधि टोलटोलमा पुर्याउनुपर्ने उहाँको भनाई छ ।

उहाँले अहिलेको गठबन्धन रहर नभएर संविधानको रक्षा र देश विकासको निम्ति रहेको सन्देशसाथ कांग्रेस जनतामाझ आएको कुरा स्पष्ट पार्न स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

गत स्थानीय तह सदस्य निर्वाचनमा टोल टोलमा काँग्रेस भन्ने अभियानबाट उल्लेख्य नतिजा पाएर हौसिएको काँग्रेसले मंसिरको निर्वाचनमा पनि राम्रो नतिजा निकाल्न निर्वाचनमुखि अभियान सञ्चालनमा ल्याएको हो ।
गाउँ कार्यसमिति सभापति ज्ञान बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा सभापति लामाले यहि २२ गतेसम्ममा वडा तहका कार्यक्रमहरु सम्पन्न गर्न वडा इकाईहरुलाई निर्देशन दिनुभयो ।

जिल्ला सचिव गुणराज मुक्तान,प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति दिनेश लामा,तमोल गाउँपालिकाका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि चन्द्र लामा,कांग्रेस महासमिति सदस्य एवं गत प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा(क)को कांग्रेसतर्फका उम्मेद्धार सिवि लामा,प्रदेशसभा (क) निर्वाचन क्षेत्रका सभापति राम योञ्जन, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं तेमाल गाउँपालिका पुर्व अध्यक्ष सलाम सिं तामाङ,गाउँपालिकाको पूर्व उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि दुर्गा माया तामाङ,जिल्ला सदस्य जोग लाल लामा,ज्ञानु लामा,हिरा तामाङ,महाधिवेशन प्रतिनिधि ज्ञानि तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा पालिकास्तरका नेता,कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अभियानको क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि उत्कृष्ट कार्यको सम्मान कार्यक्रम,समाजका पुराना अग्रज,शहिद परिवार,द्धन्दकालका घाइते,अवकाश प्राप्त शिक्षक,पुराना कृषक,नयाँ कृषि उद्यमी,साहित्यकार,पूर्व राष्ट्रसेवक कर्मचारी,खेलाडी,व्यवसायीको सम्मान जस्ता कार्यक्रमहरु पनि हुने कांग्रेसले जनाएको छ ।

अभियानको पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि सञ्चालन गर्नुपर्ने नेपाली कांग्रेस केन्द्रको कार्यतालिका सार्वजनिक भइसकेको छ ।
राष्ट्रव्यापी अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउने छन् । गत शुक्रबारदेखि काभ्रेमा पनि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु भएको हो । केन्द्रले तय गरेको कार्यतालिका अनुसार नै काभ्रेका सबै गाउँ तथा वडा तहसम्म पुगेर भदौ २४ गते बनेपामा एक औपाचारीक कार्यक्रमका साथ पहिलो चरणको अभियान समापन गर्ने काभ्रे कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया