काभ्रे– नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार दिल बहादुर तामाङ (दिलिप) को जन्म २०२६ साल भदौ २३ गते साविक भिमखोरी गाविस हालको रोशी गाउँपालिका वडा नम्बर ११ मा पिता सुर्यमान र माता पुष्पा तामाङको कोखबाट भएको हो ।

तामाङले २०४४ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितकला क्याम्पस कमिटीको प्रा.क सदस्यबाट राजनीतिक यात्रा थालनी गर्नुभएको हो । तामाङ २०४६ को संयुक्त जनआन्दोलन पश्चात २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल काभ्रे–काठमाण्डौं संपर्क मञ्चको सदस्य बन्नुभयो । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएका दिलिप सोहि वर्ष नेकपा एमाले गाउँ पार्टी कमिटी सचिव बन्नुभएको थियो । २०५१ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ काभ्रे जिल्ला कमिटी सदस्य बन्नुभएका दिलिप २०५४ मा १ नम्बर इलाका कमिटी सचिव बन्नुभयो । पाँचौं जिल्ला अधिवेशनबाट उहाँ निरन्तर जिल्ला कमिटी सदस्य रहनुभएको छ ।

इलाका कमिटी इन्चार्ज, क्षेत्रिय कमिटी सह–इन्चार्ज, पालिका कमिटी संयोजक जस्ता महत्वपुर्ण जिम्मेवारी सफलतापुर्वक बहन गर्दै आउनुभएका दिलिपले जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र समन्वय कमिटी प्रदेश १ (क) को संयोजकको समेत जिम्मेवारी प्राप्त गर्नुभएको थियो । शिक्षा क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुभएका उहाँ पोक्रा मावि भिमखोरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्नुभयो ।

समाजसेवामा रमाउने स्वभावका दिलिप राजनीतिक र समाजिक क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । उनै पुराना, अनुभवी र विकासप्रेमी नेता दिलिप तामाङलाई नेकपा एमालेले काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेशसभा ख को उम्मेवारको रुपमा उभ्याएको छ ।

तपाईको प्रतिक्रिया