काभ्रे- काभ्रेको भुम्लु गाउँपालिकाका लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जा दिलाउने नेकपा एमालेको योजनामा गठबन्धन सरकार बाधक बनेको छ । भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ का करिव १२ सय जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने गरी २०७६ सालमा नापी र मालपोतको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।

२०७६ मंसिरमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ८ नम्बर वडास्थित भुम्लुमा फिल्ड कार्यालय उद्घाटन गरेका थिए । कार्यालय उद्घाट गर्दै उनले सरकारले सबैलाई जमीनको मालिक बनाउने बताएका थिए । लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएपछि स्थानीय पनि हर्षित थिए । त्यसपछि लालपुर्जा वितरण गर्नका लागि केहि प्रकृया पनि सुरु भयो । कोरोना महामारीका कारण सोचेजस्तो तिव्र गतिमा काम भने हुन सकेन । उक्त अवधिमा करिव १ सय ५० जनाले लालपुर्जा प्राप्त गरेको स्थानीयले बताएका छन । त्यसपछि कोरोना केहि मत्थर हुँदै गएपछि रोकिएको कामलाई अघि बढाउन खोज्दाखोज्दै एमाले नेतृत्वको सरकार नै परिवर्तन भयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका पार्टी मिलेर बनेको गठबन्धन सरकारले ४६ वर्षदेखी लालपुर्जाविहिन स्थानीयको समस्या समाधान गर्न कुनै पहल नै गरेन । यहिबीचमा मंगलबार मतदाता भेट्न भुम्लु पुगेका पुर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बास्कोटालाई स्थानीयले धन्यवाद सहित गुनासो पनि राखेका छन् । आफ्नो कार्याकालमा महत्वपुर्ण कामको थालनी बास्कोटाले गरेपनि गठबन्धन सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले आक्रोस पोखेका थिए । एमाले नेतृत्वको सरकार बाहेक अरुले जनताको काम गर्दैनन् भन्ने पुष्टि भएको भन्दै स्थानीय सावित्रा खरेलले बास्कोटालाई पुनःसरकारमा पुगेर लालपुर्जाविहिन जनालाई लालपुर्जा दिलाईदिन माग गरेकी छन् । यस्तै स्थानीय प्रकाश खरेलले पटक–पटक आश्वासन पाएपनि यसअघि काम नै सुरु भइसकेपछि फेरी रोकिनु दुःखद भएको बताए । जवाफमा बास्कोटाले अब बन्ने एमाले नेतृत्वको सरकारले बाँकी काम टुंगोमा पुर्याउने बताए ।

गाउँपालिकाको ७ र ८ नम्बर वडामा स्थानीयको जग्गाधनी र जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको हो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि ती लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएपनि थप प्रक्रिया अघि बढेको छैन । जसका कारण विगत ४६ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवार लालपुर्जाविहिन छन् ।

तपाईको प्रतिक्रिया