इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भएको आगलागी साढे ६ घन्टापछि नियन्त्रणमा आएको छ । बिहान साढे नौ बजे तिरबाट ठूलो रूप लिएको आगो अहिले तीन बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको छ । इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले भने, आगो नियन्त्रणमा आएपछि सबैतिरका दमकलहरू फिर्ता भएका छन् ।
इटहरी चोकबाट पूर्वतिर रहेको सेन्ट्रल प्लाजाको नौ तले भवनमा बिहान साढे आठ बजेतिरै धुँवाको मुस्लो भेटिएको थियो । त्यसको केहीबेरमा आगोले ठूलो रूप लिएको थियो । आगलागीबाट प्लाजाको सबभन्दा माथिल्लो तीन वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ ।
होटल सञ्चालक राजेश श्रेष्ठका अनुसार किचन, रेष्टुराँमा बढी क्षति भएको छ ।
आगो नियन्त्रणमा आइसके पनि होटल सञ्चालक श्रेष्ठले भित्र पस्ने आँट आइनसकेको बताए । आगोले गरेको क्षति देखेर भित्र पस्ने हिम्मत नै आइरहेको छैन, म पसेकै छैन । उनले भने
वडाध्यक्ष पोखरेलले दिएको जानकारी अनुसार आगोले भवनको सातौं तलामा पनि असर गरेको छ ।