१३ चैत, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबार गर्ने गिरोहका ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन् ।
अनलाइन जुवा (सट्टाबाजी) खेल्ने÷खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घर भाडामा लिएर अनलाइन जुवा खेलिरहेको अवस्थामा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले २ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने÷खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार समेत गरेको देखिन आएको प्रहरीको भनाइ छ ।