२४ चैत काठमाडौं / दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । गत चैत १५ गते प्रसाईंले तीनकुनेमा बितन्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । प्रहरीले उनी भारत भागेका पुष्टि भएपछि भारतीय प्रहरीको समन्वयमा प्रहरीको टोली भारत गएको हो ।
भारतमा उनी कहाँ लुकेका छन् भन्नेबारे प्रहरीले विवरण पाएको छैन । प्रहरी स्रोतका अनुसार, प्रसाईं सुरुमा भारतको उत्तर प्रदेश पुगेको सूचनाका आधारमा प्रहरीको टोली उत्तर प्रदेश गएको हो । त्यहाँबाट समेत उनी अन्त भागेको आशंका गरिएको छ ।
केही दिनअघि नै उत्तरप्रदेश पुगेको प्रहरी टोली अझै नेपाल फर्किएको छैन । प्रसाईं भारतीय हिन्दू संगठन आरएसएसको सम्पर्कमा पुगेको दाबी सुरक्षा निकायको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीनकुनेबाट ललितपुर भाग्दै गर्दा प्रसाईंले प्रयोग गरेको बाएबी४२०८ नम्बरको स्कार्पियो गाडी भने इटहरीबाट बरामद गरेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा उक्त गाडी प्रसाईंले सञ्चालन गरेको झापाको विएन्डसी अस्पतालसमेत पुगेको खुलेको छ । प्रहरीले उक्त गाडीका चालक ईश्वर विक र गाडी धनी मुक्कुद दाहाललाई पक्राउ समेत गरेको छ । तर, चालकलाई भने तारेखमा छाडेको छ ।
दाहाल भने दुर्गा प्रसाईंको सहयोगी भएको खुलेको छ । चैत १५ मा राजावादीले आयोजना गरेको तीनकुनेको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बनेपछि तीनकुनेको अवस्था तनावपूर्ण बनेको थियो ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन एक सय १० राउण्ड गोली चलाएको थियो । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । त्यस्तै प्रदर्शनकारीले एक व्यक्तिको घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।
प्रहरीको गोली लागेर २० जना घइते भएका थिए । घटना अराजक बनाउन निर्देशन दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, तीनकुने घटनामा आगजनी गर्ने लुटपाट गर्ने ६७ जनामाथि प्रहरीले मुद्दा चलाएर अनुसन्धान थालेको छ ।
प्रहरीले पक्राउ भने १६१ जनालाई गरेको थियो । तर, पक्राउ परेका सबैजनालाई मुद्दा नचाउनु नपर्ने देखिएपछि उनीहरुलाई छाडिएको हो ।