२४ चैत काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्र माओवादी ‘जनयुद्ध’ छोडेर आएको बताएका छन् । आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
तीन नेता बसेर सहमति गरिसकेपछि मात्र माओवादी मिसिएको उनले उल्लेख गरे । उनले आफू नेकपा (एमाले)मा रहँदा त्यति खेर साउनमा नै गणतन्त्र ल्याउने निर्णय गरेको जिकिर गरे ।“ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरू गर्ने हामी तीनजना नेता हौँ । एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्डजी,” उनले भने, “पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो ।”
कोइराला र आफूले नै सबै सहमति गरेको उनले बताए । उनले तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको सुनाए ।
“सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ,” उनले भने, “हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।”
पछिल्ला घटनाक्रमलक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे । पूर्वराजाले फर्कने इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्र रहेको र त्यसले मन शान्त भएको उनको भनाइ थियो ।
“एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको, पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन,” उनले भने, “अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ ।”