२०८२ बैशाख २, मंगलबार
कर्फ्यू हट्यो

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

१ वैशाख काठमाडौँ / पर्सा प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।

कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिबार साँझदेखि लागू गरिएको कर्फ्यू आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कर्फ्यूको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार निषेधाज्ञा जारी भएको र यो आदेशलाई उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पर्साका प्रशासकीय अधिकृत पटेलले बताए ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ । बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए ।

बैठकमा दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन् ।

हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न भएको दुई पक्षबीचको झडपलाई लिएर झडप पश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस