जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवा लिन पुगेका एक जना सेवाग्राहीको मृत्यु भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर ७ पैय्याचौरका ७० वर्षीय टीकाराम ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
उनी राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालयमा पुगेका थिए। उनको साथमा भान्जीज्वाइँ पनि थिए । कार्यालयमा उभिएका उनी एक्कासि लडेका थिए । तत्कालै उनलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक बस्नेतले बताए।
उनका अनुसार अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले ओलीलाई मृत घोषणा गरेको थियो । उनी दम, रक्तचापको बिरामी थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । शवको पोष्टमर्टमपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ । शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ ।