११ चैत्र काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती भ्रष्टाचार मुद्दामा फरार रहेका थिए । उनलाई प्रहरीले आइतबार वनस्थलीबाट पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौँको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो। उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागार चलान भएको ब्यूरोले जनाएको छ ।