१३ चैत्र काठमाडौं / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । आधा घण्टाका लागि स्थगित भएर चार घण्टापछि बसेको बैठकमा पनि विपक्षी दलले कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायम राखेका थिए ।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि बसेर सहयोग अनुरोध गरेका थिए । तर, विपक्षी दलका सांसदले प्रधानमन्त्रीको जवाफका लागि रुलिङको माग राखे । त्यसपछि सभामुखले सांसद बसेपछि मात्रै रुलिङको प्रक्रिया अघि बढाउन सकिने बताए । तर, विपक्षी दलका सांसदले अडान नछोडेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।