१ बैशाख काठमाडौँ / मंगलबारदेखि सक्रिय भएको पानी पर्ने प्रणाली अहिले केही कमजोर देखिएको छ । काठमाडौं उपत्यकामा अहिले घाम लागिरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली र केही स्थानमा वर्षा भइरहेको छ । बाँकी भागहरूमा त्यहाँ पनि घाम लागिरहेको अवस्था छ ।
पछिल्लो तीन घन्टामा सोलुखुम्बु, दोलखा र रूपन्देहीमा वर्षा भएको छ । दोलखामा ६.८ मिलिमिटर वर्षा भएको छ भने अन्यत्र एक मिलिमिटरभन्दा मुनि नै वर्षा भएको छ ।
पहाडी तथा तराई भेगमा अहिले गहुँ, दलहन र तेलहन बाली भित्र्याउने बेला पनि भइरहेको छ। राति उघ्रिएजस्तो हुने र बिहान घामसमेत लाग्ने हुनाले कतिपय ठाउँमा किसानहरूले बालीनाली काट्न पनि थालेका छन् ।
मौसमविद्हरूले भने अझै नहतारिन सुझाव दिएका छन् । मौसमविद् प्रतिभा मानन्धरले सोमबारदेखि बुधबारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा राति उघ्रने र बिहानपख घाम लाग्ने सम्भावना रहेको बताइन् ।
खास गरी कोशीदेखि लुम्बिनी प्रदेशसम्मै यो सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुकोको प्रभावले मौसममा बदली र छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् ।
‘आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगहरूमा बिहानपख घाम लाग्ने र दिउँसोतिर पानी छिट्याउने देखिन्छ । यी ठाउँमा बालीनाली भित्र्याउँदा मौसमसम्बन्धी जानकारी लिनुपर्ने नै हुन्छ,’ उनले भनिन्, ‘यो क्रम बुधबारसम्मै रहन्छ ।’
अर्का मौसमविद् विनोद पोखरेलले सोमबार दिउँसो गण्डकी र बा बागमतीमा छोटो समयका लागि हल्का वर्षाको सम्भावना औंल्याएका छन्। विभिन्न मोडलमार्फत मौसम पूर्वानुमान गर्ने उनले मंगलबार र बुधबार देशभर कम वर्षाको सम्भावना देखाएका छन् ।
‘मंगलबार र बुधबारको लागि वर्षाको कम सम्भावना छ,’ उनले भनेका छन् । उनले बिहीबारदेखि पुनः पानी पार्ने प्रणाली सक्रिय हुने बताएका छन् । यो वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्याउने उनले सम्भावना व्यक्त गरेका छन् ।