२०८२ बैशाख २, मंगलबार
सडकमा शिक्षक

नयाँ शैक्षिक सत्र सुरु, सडकमा शिक्षक, भर्ना अभियान प्रभावित

नयाँ शैक्षिक सत्र सुरु, सडकमा शिक्षक, भर्ना अभियान प्रभावित

१ वैशाख, काठमाडौं / नयाँ शैक्षिक सत्र २०८२ आजदेखि सुरु भएको छ । तर विद्यार्थी भर्ना भने २ वैशाखदेखि हुने छ । १ वैशाखका दिन सार्वजनिक बिदा भएकाले २ वैशाखदेखि भर्ना सुरु हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको बताएकी छन् ।

नयाँ वर्षको शुभकामना दिँदै मन्त्री भट्टराईले सबै बालबालिकाको पहुँच, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थी टिकाउ दर बढाउन थप प्रतिबद्धता र सहकार्यको खाँचो रहेको बताएकी छन् ।

‘वर्तमान अवस्थामा प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.३ प्रतिशत, आधारभूत तहको कुल भर्नादर १२८ प्रतिशत, खुद भर्नादर ९४.१ प्रतिशत र माध्यमिक तहको खुद भर्नादर ५५.८ प्रतिशत रहेको तथ्यांकले शिक्षामा सुधारका संकेत देखिएको भएता पनि शिक्षामा सबै बालबालिकाको पहुँच, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थी टिकाउ दर बढाउन थप प्रतिबद्धता र सहकार्यको खाँचो औंल्याउँछ,’ मन्त्री भट्टराईले भनेकी छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार २०८५ साल १ वैशाखदेखि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनै पनि सार्वजनिक पद, सेवामा नियुक्त वा निर्वाचित हुन नपाउने व्यवस्थाले शिक्षाको महत्त्वलाई थप उजागर गरेको उनले बताएकी छन् । विद्यार्थी भर्ना अभियानालाई प्रभावकारी बनाउन तीनै तहको सरकारबीच समन्य र सबैको सहयोग आवश्यक रहेको उनले बताएकी छन् ।

‘विद्यार्थी भर्ना अभियान र समग्र शिक्षा सुधारको हाम्रो प्रयास सफल हुने भएकोले यसमा तीनै तहका सरकार, शिक्षक, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, शैक्षिक क्षेत्रका विज्ञ, कलाकार, स्रष्टा र सम्पूर्ण नेपाली जनसमुदायलाई सक्रिय सहभागिता र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु,’ मन्त्री भट्टराईले भनेकी छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएपनि महत्त्वपूर्ण सरोकारवाला पक्ष रहेको शिक्षकहरू भने आन्दोलनमा छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।

शिक्षकको आन्दोलनका कारण भर्ना अभियान प्रभावित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच संवाद भएपनि सहमति हुन सकेको छैन । भोलि मंगलबारदेखि विद्यालय नखुले ७० लाख बालबालिकाको पढाइ प्रभावित हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस