२०८१ चैत्र ३१, आईतबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दै

बल्खुमा प्रदर्शन र आमसभा
राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दै

२६ चैत काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ । विभिन्न ठाउँबाट र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाले पार्टी वा राष्ट्रिय झन्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिलसमेत गरेको छ ।
राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो ।

भृकुटीमण्डप–माइतीघर–बबरमहल क्षेत्रमा नेपाल शिक्षक महासंघ, सहकारी र लघुवित्त पीडित तथा राष्ट्रिय जनमोर्चाले प्रदर्शन र कार्यक्रम गर्दै आएका छन् । राप्रपाले बल्खुमा कार्यक्रम गर्ने बताएको छ । पछिल्लो समय चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन हिंसात्मक भएपछि सुरक्षा निकायले यस्ता प्रदर्शन शान्तिपूर्ण होस् भन्ने चाहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् ।

राप्रपाले बल्खुमा कार्यक्रम गर्ने भएपछि मंगलबार त्यस क्षेत्रको यातायात व्यवस्थापनमा ट्राफिक प्रहरी पनि खटिएको छ ।ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन गरिएको प्रहरीको भनाइ छ । त्यसबाहेक अन्य सुरक्षाका लागि पनि जिल्ला प्रहरी परिसर काठमाडौंले रणनीति बनाएको एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस