२४ चैत, काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।
यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने ।
शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ । ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो । यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले भनेको छ । २०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश भएका छन् ।
शिक्षकहरू २० चैतदेखि काठमाडौमा सडक आन्दोलनमा आएका छन् । आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।